चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जिताएर चितवनका जनताले ऋण तिर्ने अवसर दिएको प्रतिक्रिया दिएका छन्।
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष दाहालले चितवनवासीले दिएको जिम्मेवारीलाई समग्र विकास निर्माण र आर्थिक समृद्धिमा लगाउने प्रतिबद्धता जनाए।
निर्वाचनको अन्तिम परिणाम प्राप्त भएपछि एमालेसँग सरकार गठन र पार्टी एकताका विषयमा छलफल गरिने बताउँदै अध्यक्ष दाहालले वाम गठबन्धनको भविष्यबारे सुरुबाटै गम्भीर तरिकाले सोचिने बताए। ‘पार्टी एकता, सरकार गठन, वाम गठबन्धनको भविष्यका लागि गम्भीर तरिकाले अघि बढ्न आवश्यक छ,’ उनले भने, ‘इतिहासबाट शिक्षा लिँदै राष्ट्रिको विकासका लागि एकताबद्ध भई अघि बढ्नेछौं।’
निर्वाचनको परिणामले कांग्रेसलाई प्रतिपक्षमा पुर्याए पनि राष्ट्रिय मुद्दामा सहकार्य गर्न कांग्रेसको भूमिका आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ।
प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।