काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरेका छन्। यसअघि नै उनले मध्य अमेरिकाको बेलिज, भारत, कोस्टारिकाका विश्वविद्यालयबाट यस्तो उपाधि पाइसकेका छन्।
बुधबार दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गरेको हो।
नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजित कार्यक्रममा ओलीले सो उपाधि हुन्।
काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युनले ओलीलाई उपाधि हस्तान्तरण गरेका हुन्।
सन् १९४६ मा स्थापित यो विश्वविद्यालय क्रिस्टियानिटी र मानवताको सिद्धान्तमा आधारित भएर सत्य, स्वतन्त्रता, समभाव र मानव कल्याणमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उक्त विश्वविद्यालयको वेबसाइटमा उल्लेख छ।
ओलीले उपाधि ग्रहण गरेको यो विश्वविद्यालयको उपाधि भने विवादित बन्न सक्ने देखिएको छ। सामाजिक सञ्जाल ट्विटरमा केहीले असन्तुष्टि व्यक्त गरेका छन्।
'PhD लिनुस् केही छैन। यो सम्मान हो। तर धर्म निरपेक्ष मुलुकका कार्यकारी नेतृत्वले क्रिश्चियन धर्मलाई प्रचार प्रसार गर्न, त्यसको मर्म र भावनालाई अघि बढाउने भनेर खोलिएको विश्वविद्यालयबाट दिइने सम्मानबारे थोरै विचार गरेको भए हुने थियो', विशाल कुमार भण्डारीले ट्विटरमा लेखेका छन्।
(फोटो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटरबाट लिइएको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।