दाङ- अत्यधिक गर्मी बढेपछि दाङका संस्थागत विद्यालयहरु बन्द गरिएका छन्। संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याबसन दाङको संयुक्त आह्वानमा आजदेखि जिल्लाका संस्थागत विद्यालयहरु बन्द भएका हुन्।
गर्मी बढेसँगै पठनपाठनमा असहजता उत्पन्न भएपछि शुक्रबारसम्म दाङका संस्थागत विद्यालय बन्द गरिएको प्याव्सन दाङका अध्यक्ष रेशम बुढाले जानकारी दिए।
गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने विभिन्न असरलाई मध्यनजर गर्दै चार दिन बिदा गर्ने निर्णय गरेको एन प्याब्सन दाङका अध्यक्ष भीमबहादुर बुढाथोकीले बताए। ‘विद्यालयमा विद्यार्थी बिरामी पर्न थालेपछि स्वास्थ्यको संवेदनशिलतालाई मध्यनजर गर्दै संस्थागत विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको संयुक्त आयोजनामा चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छौं’, अध्यक्ष बुढाथोकीले भने, ‘राष्ट्रिय परीक्षामा विद्यार्थीको पठनपाठनका लागि वैकल्पिक व्यवस्था गर्न पनि सम्बन्धित विद्यालयलाई अनुरोध गरेका छौं।’
मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी फिल्ड कार्यालय दाङले गर्मी अझै बढ्ने अनुमान गरेको छ। गत वर्षको तुलनामा यस वर्ष गर्मी अत्यधिक रेकर्ड गरिएको फिल्ड कार्यालयका प्राविधिक शरद शर्मा बताउँछन्।
केही दिनयता दाङको तापक्रम ३८–३९ डिग्री सेल्सियस छ। हावामा ओसको मात्रामा कमी भएका कारण झनै गर्मी महुसुस भएको शर्माको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।