काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने भएका छन्।
बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको परिस्थितिलाई मध्यनजर गर्दै उनले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका हुन्।
निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार जारी गरेको सूचनामा पूर्वराजा शाहले यस वर्षको दशैं सादगीपूर्वक मनाउने निर्णय गरेको जनाएको छ।
सूचनामा गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौं मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको उल्लेख छ। प्राकृतिक विपद्का कारण ठूलो जनधनको अपूरणीय क्षति भएको असहज परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार पूर्वराजा शाहले आफ्नो आस्था, मान्यता र मर्यादा कायम राख्दै यस वर्षको दशैं सादगीपूर्वक मनाउने निधो गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।