काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी विभिन्न चरणमा तल्लो तटीय क्षेत्रतर्फ बढिरहेको छ। मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले बिहानदेखि तीन चरणमा बाढी आएको छ भने दोस्रो बाढीले आरूघाटमा खतराको तह पार गरेको जानकारी दिए।
पराजुलीका अनुसार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुम्चेत क्षेत्रबाट ठूलो बाढी सिर्जना भएको जानकारी प्राप्त भएको थियो। बाढीले माथिल्लो क्षेत्रमा क्षति पुर्याइसकेको छ भने तल्लो क्षेत्रमा पनि जोखिम कायम रहेको छ।
बाढीको सूचना प्राप्त हुनासाथ तल्लो तटीय क्षेत्रमा पूर्वसूचना सम्प्रेषण गरिएको र एसएमएसमार्फत समेत सर्वसाधारणलाई सचेत गराइएको उनले बताए।
वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीका अनुसार आरूघाटमा पहिलो बाढी बिहान करिब ६ः३० बजे पुगेको थियो। उक्त बाढी तुलनात्मक रूपमा सानो थियो। दोस्रो बाढी बिहान ७ः५० बजे पुगेको थियो, जसले आरूघाटमा खतराको तह पार गरेको थियो। त्यसपछि पानीको सतह घटेको र तेस्रो बाढी पुनः आरूघाटतर्फ आइरहेको उनले जानकारी दिए।
हालसम्मको अवस्था हेर्दा आरूघाट वा त्यसभन्दा तल्लो क्षेत्रमा ठूलो असर पर्ने सम्भावना तत्काल कम देखिएको उनले बताए। तर माथिल्लो क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याइसकेको उनले बताए।
बूढीगण्डकीमा अचानक ठूलो बाढी आउनुको वास्तविक कारण अझै खुल्न सकेको छैन। बाढी मानव बस्तीभन्दा टाढा हिमाली क्षेत्रबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको पराजुलीले बताए।
नदी पहिरोका कारण थुनिएर खुलेको हो वा हिमाली क्षेत्रबाट अन्य कारणले बाढी सिर्जना भएको हो भन्ने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए। बाढीको वास्तविक कारणबारे केही घण्टाभित्र वा आइतबार साँझसम्म थप स्पष्टता आउन सक्ने उनले बताए।
बाढी विभिन्न चरणमा आउने र नदीको बहाव बढ्ने–घट्ने क्रम जारी रहेकाले अर्को स्पष्ट सूचना जारी नभएसम्म आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
पराजुलीले बूढीगण्डकी नदी र त्रिशूली नदीको दोभानसम्मका तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदी किनारका घर छाडेर सुरक्षित उच्च स्थानमा जान अनुरोध गरेका छन्।
विशेषगरी आरूघाट, तातोपानी, माछीखोला, आर्खेतलगायत बूढीगण्डकी नदी किनारका होचा बस्ती तथा बजारमा बसोबास गर्ने नागरिकलाई जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।