काठमाडौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा लागेको सार्वजनिक शान्ति सुरक्षामा असर पुर्याएको मुद्दामा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले सफाइ पाएका छन्।
जिल्ला अदालत काठमाडौंले नेपाललाई दोषी ठहर गर्ने आधार नदेखिएको भन्दै सफाइ दिने फैसला सुनाएको हो।
विसं २०७५ भाद्र १४ गते मोदीले नेपालको औपचारिक भ्रमणका क्रममा काठमाडौंमा अवतरण गरेकै दिन अध्यक्ष नेपाललाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुरको अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको इजलासले २०७५ मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा १ हजार जरिवाना हुने निर्णय सुनाएको थियो।
उक्त फैसला त्रुटिपूर्ण भएको भन्दै जिल्ला न्यायाधीश जनार्दन भट्टराईको इजालाशले सोमबार सफाइ दिएको हो।
नेपालले सार्वजनिक स्थानमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ७० को (१) बमोजिम कसुर अपराध गरेको ठहर एक हजार जरिवाना हुने निर्णय जिल्ला प्रशासनले गरेको थियो।
जिल्ला प्रशासनको फैसला उपर नेपालले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन दर्ता गराएका थिए।
उक्त पुनरावेदनमा फैसला गर्दै नेपाललाई सफाइ दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।