काठमाडौं– एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ। गए राति भएको च्याम्पियनसिपको प्लेअफ खेलमा डर्बीलाई २–१ गोलले हराएर एस्टन भिल्ला प्रिमियर लिगमा फर्किएको हो।
भिल्ला अघिल्लो सिजनको फाइनलमा फुलह्यामसँग पराजित हुँदा प्रिमियर लिगमा फर्कन असफल भएको थियो। यसपटक भने भिल्लाले डर्बीविरुद्ध पहिले नै २–० को अग्रता लियो। उसका लागि इल गाजीले ४४ र म्याक ग्लिनले ५९ मिनेटमा गोल गरेका थिए। डर्बीका लागि वागहर्नले ८१ मिनेटमा गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित बन्यो।
भिल्ला सन् २०१६ मा रेलिगेशनमा परेपछि प्रिमियर लिगमा फर्किएको हो।
यसअघि च्याम्पियनसिपको उपाधि जितेको नर्विच सिटी र दोस्रो भएको सेफिल्ड युनाइटेड प्रिमियर लिगमा बढुवा भएका थिए।
सिजनमा प्रिमियर लिगबाट कार्डिफ सिटी, फुलह्याम र हडर्सफिल्ड टाउन रेलिगेशनमा परेका थिए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।