काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले संसदमा पेस गरिएको राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकमा पुनर्विचार गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ।
आयोगका अध्यक्ष अनुपराज शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्तताको गरिमालाई बुझेर सोही अनुसारको कानुन निर्माण गर्न सरकार सक्षम हुने विश्वास पनि व्यक्त गरेका छन्।
आयोगको १९औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, 'मिडिया काउन्सिल विधेयकप्रति भईरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय चासो र चिन्तालाई पनि सरकारले तत्काल सम्बोधन गर्ने अपेक्षा छ।'
आयोगको गरिमा र महत्वलाई मनन् गर्दै यसको संरक्षण गर्ने दायित्व सरकारकै भएको पनि आयोगले स्मरण गराएको छ।
अध्यक्ष शर्माले द्वन्द्वकालीन मानव अधिकार उल्लंघन घटनाका पीडितलाई न्याय दिन ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए।
प्रत्येक व्यक्तिले कसरी मानव अधिकारको अनुभूति गर्न सक्छ? यसमा सम्बन्धित सबै पक्षले मनन गरेर अघि बढनुपर्ने अध्यक्ष शर्माको भनाई थियो।
आयोगले मानव अधिकार उल्लंघन भएका उजुरीको आधारमा गरिएको निर्णयहरु कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।