काठमाडौं- महोत्तरीको बर्दिवास नगरपालिका कार्यालयनजिक सोमबार बिहान फेला परेकाे कुकर बम सेनाले निष्क्रिय पारेकाे छ।
पूर्वपश्चिम राजमार्ग छेउस्थित नगर कार्यालयको मूल गेटनजिक कुकर बम भेटिएकाे थियाे। प्लाष्टिकको डोरीले बाँधिएको कार्टुनभित्र साढे २ लिटर क्षमताको कुकर रहेको र बाहिरबाटै विद्युत तारसहित भेटिएकाे थियाे।
उक्त वस्तु भएको जानकारीलगत्तै घटनास्थललाई सुरक्षा घेरामा लिइएको थियाे। सशस्त्र र नेपाल प्रहरीको टोलीले ५० मिटर वरपर आवागमन रोकेको थियाे। आसपासका पसल बन्द राखिएको बर्दिवासस्थित इलाका प्रहरीका डिएसपी निसान थापाले जनाए।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सेनाको डिस्पोजल टोलीले डिस्पाेज गरेकाे बताए। सोमबार नेक्रवित्रम चन्द समूहले बन्द आह्वान गरेकाले बम पनि चन्द समूहले नै राखेको हुन सक्ने आशंका गरिएको छ।
उता, बैतडीको दोगडाकेदारमा फेला परेका दुई वटा बम निष्क्रिय पारिएका छन्।
दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा रहेका बमहरु बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
हनुमानध्वज गुल्मको क्याप्टेन देवेन्द्र बस्नेत नेतृत्वको सेनाको टोलीले १ घन्टा लगाएर उक्त बम डिस्पोज गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।