मकवानपुर– नेत्र विक्रम चन्द 'विप्लव' समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ।
मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौंडाको बुद्धचोकमै बम फेला परेको छ।
मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ। आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ।
हेटौंडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए।
आगजनीका कारण मानवीय क्षति भने भएको छैन। त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ।
नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो। इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।