इटहरी– मोरङको बुढीगंगा गाउँपालिका–१ को कोशी राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ। त्यस्तै मोरङकै सुन्दरहरैचा नगरपालिका– ७ पूर्वपश्चिम राजमार्गमा पनि कुकर बम भएको आशंका गरिएको छ।
इटहरी धरान सडक खण्डको बीचमा चारकोसे झाडीमा पनि शंकास्पद वस्तु फेला परेको छ।
बुढिगंगा गाउँपालिकामा बिहान करिब ६ बजे तिर उक्त शंकास्पद वस्तु फेला परेको हो। प्रेसर कुकर जस्तो वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरी टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको विशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बमको आशंका गरिएको छ। राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त वस्तु फेला परेको हो। सो स्थानमा सुरक्षाकर्मीले घेरा हालेका छन्।
रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा बम फेला परेको हो।
कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन। बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले सोही समूहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुग्न केही समय लाग्ने प्रहरी उपरीक्षक श्रेष्ठले बताए।
उता सुनसरीको इटहरी र धरान बीचको जंगलमा पनि सोही रातो वस्तु फेला परेको छ।
बिहान घाँस काट्न गएका स्थानीयले उक्त बस्तु देखेको भएपनी अहिलेसम्म सो स्थानमा प्रहरी पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।