जनकपुर– विवाहको नाटक गरेर भारतको कोठीमा पुर्याइएकी धनुषाकी एक युवती भागेर नेपाल फर्किन सफल भएकी छन्।
उनी एक महिलाको सहयोगमा भारतबाट नेपाल फर्किन सफल भएकी हुन्। बन्धक बनाएर नसालु पदार्थ प्रयोग गरी तथा कुटपिट गरी यौन व्यवसाय गराउँदा ती युवती बिरामीसमेत परेकी थिइन्। उनी जनकपुर अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएकी छन्।
चार महिनाअघि बटेश्वर गाउँपालिकाकी ती युवतीलाई महोत्तरीको लोहरपट्टी नगरपालिकाका एक युवकले प्रेम जालमा फसाएर भगाएका थिए।
युवतीका परिवारले खोजी गर्दा महोत्तरीका ती युवाले भगाएको पत्ता लागेको थियो। ती युवाले उनीहरू दुवै प्रेम सम्बन्धमा रहेको र युवतीसँग विवाह गरी युवतीको सम्पूर्ण जिम्मा लिने बताएका थिए।
भगाएको डेढ महिनापछि ती युवकले आफ्नो घरपरिवारको उपस्थितिमा युवतीसँग विवाह पनि गरेका थिए। विवाहपछि युवकले युवतीलाई आफ्नो घर नलागी दुईचार दिन यताउता राखी भारतको मुजफरपुरको एक कोठीमा देहव्यापार गर्न पुर्याएका थिए।
कोठीमा पुर्याइएकी ती युवतीलाई यौन व्यवसायमा संलग्न गराउँदा नमानेपछि नसालु सुई प्रयोग गरी हातखुट्ट बाँधेर चरम यातना समेत दिँदै आएका थिए। ‘पहिला प्रेम गर्छु भनेर भगाए। विवाहको नाटक गरी मलाई छलेर भारतमा लगेर मलाई बेचिदिए,’ युवतीले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘मलाई त्यहाँ यौन व्यवसायमा जबरजस्ती पठाइन्थ्यो। मैले अस्वीकार गर्दा हातखुट्टा बाँधेर नसाको सुई लगाइदिन्थे, चिच्याउँदा कुटपिट गर्थे र मुखमा कपडा कोचिदिन्थे।’
कोठी नजिकैका एकजना महिलाले आफूमाथि भएको पीडा हेर्न नसकी माया लागेर नुहाइदिने बहानामा आफूलाई बाहिर निकालेर घरसम्म आउन सहयोग गरेको पीडित युवतीले बताइन्।
चरम यातना र यौन शोषणमा परेर बिरामी भएकी ती युवती जेठ ४ गते साँझ जनकपुरको रामानन्दचोकमा आएर अलपत्र परेकी थिइन्।
जानकी प्रहरी चौकीले त्यहाँबाट उद्धार गरी उनका घर परिवारलाई बोलाएका थिए। पीडित परिवारले आफ्नो छोरीमाथि भएको यातना र यौनशोषणको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन्।
युवतीले आफूलाई माया गर्छु भनेर विवाहको नाटक गरी बेच्नेलाई र उनलाई सहयोग गर्नेहरूलाई कारबाहीको लागि पहल गरिदिन गुहार पनि गरेकी छन्।
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले ती युवतीलाई विवाह गरेर भारत लगेर यौन व्यवसाय गराएको घटनाको छानबिन गरिरहेको बताएका छन्।
उनले यस्ता गम्भीर प्रकृतिको अपराध गर्ने जो सुकैलाई पक्राउ गरी कडा कारबाही गर्ने र अपराधिको खोजी भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।