नयाँ दिल्ली- भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलाएन्स (एनडिए)को संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत रूपमा चुनिएका छन्। शनिबार बसेको गठबन्धनको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरिएको भाजपा अध्यक्ष अमित शाहले बताए।
भारतीय लोक सभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजीनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए।भारतीय संसदीय परम्पराअनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको हो।

मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा अध्यक्ष शाहले प्रस्ताव गरेका थिए भने नेता राजनाथ सिंहले समर्थन जनाएका थिए। यससँगै मोदीलाई पुनः प्रधानमन्त्री बन्न बाटो खुलेको छ।
संसदीय दलको नेता चयनको घोषणासँगै भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीले मोदीलाई पुष्पगुच्छासहित बधाई दिएका थिए। सोपश्चात् भाजपा अध्यक्ष शाहले मोदीलाई मिठाइ (लढ्ढु) खुवाएका थिए।
अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न ७ चरणमा लोकसभाको ५ सय ४२ सिटका लागि भएको निर्वाचनमा नरेन्द्र मोदीको दल भाजपा एक्लैले ३ सय ३ सिटमा जीत हात पारेको भारतीय निर्वाचन आयोगले जानकारी गराएको छ। संसदमा बहुमत पुग्नका लागि २ सय ७२ सिटको आवश्यकता हुन्छ।
त्यस्तै भाजपाको नेतृत्पमा रहेको गठबन्धन एनडिएको लोकसभामा जम्मा ३ सय ५३ सिट पुगेको छ।

त्यसैगरी लोकसभामा दोस्रो ठूलो दल भारतीय नेसनल कांग्रेसले ५२ सिट ल्याएको छ भने उसको गठबन्धन यूनाइटेड प्रोग्रेसिभ अलाएन्स (यूपिए)ले ८५ स्थानमा विजय हासिल गरेको छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले गरी १ सय ७ सिट ल्याएका छन्।
निर्वाचन आयोगका तर्फबाट निर्वाचन परिणामको औपचारिक जानकारी शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई भेटी प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले गराएका थिए। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।