काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणालीसँगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने बताएका छन्।
शनिबार राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्तरक्रियामा उनले परिर्वतित सन्दर्भमा विश्वको शिक्षा पद्धति,प्रविधि तथा नमुनाअनुसार नेपाली शिक्षाको प्रणाली परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
वर्षेनी ठूलो संख्यामा नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बाहिरिने गरेको तथा सो क्रममा ठूलो परिमाणमा नेपाली रुपैयाँ बाहिर गएको भन्दै उनले स्वदेश मै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए।
पूर्व प्रधानमन्त्री खनालले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावना हेरेर विश्वस्तरअनुरुप शिक्षाको समग्र प्रणालीलाई परिर्वतन गरी अद्यावधि गर्दै नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्ने बताए।
खनालले २०४६ सालदेखि नेपालको शिक्षा क्षेत्रमा ठूलो परिर्वतन भए पनि युगको आवश्यकतालाई प्रतिबिम्बित गर्न नसकेकाले सरकारले उच्चस्तरीय शिक्षा आयोग मार्फत विस्तृत अध्ययन गरी शिक्षामा आमूल परिर्वतन गर्न खोजेको स्पष्ट पारे।
उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।