काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाैने ८ करोड बराबरको भारतीय नक्कली नोटसहित पक्राउ परेका ६ जनालाई सार्वजनिक गरिएको छ। महानगरीय प्रहरी परिसर टेकुमा आज प्रहरीले बरामद गरिएको नक्कली भारुसहित कारेबारमा संलग्न सबै ६ जनालाई सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी परिसरका अनुसार कतारको दाेहाबाट उडेको कतार एयरवेजको विमानबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट काठमाडौं ल्याइएको थियो। शुक्रबार बिहान ९ः४० मा काठमाडौं उत्रिएको विमानमा सवार ३ जना पाकिस्तानी नागरिकले नेपाल ल्याउँदै गरेको साे परिमाणको नाेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचका क्रममा बरामद गरिएको हो।
पक्राउ पर्नेमा पाकिस्तानी नागरिक ६७ वर्षीय नासिर उद्धिन, ३९ वर्षीय नादिया अनवर, ४९ वर्षीय मोहमद अख्तर रहेका छन्। यस्तै नोट लिन विमानस्थल पुग्ने नेपाली नागरिकमा ललितपुर ताल्छीखेल बसने युनुस अन्सारी सहित रौतहटको रमौली बैरिया नगरपालिका-१ बस्ने सुबल खान र अन्सारीका गाडी चालक भक्तपुरको सूर्यविनायक नगरपालिका-५, बालकोटका सुजन रानाभाट छन्।
भारतीय जाली नाेटको कारोबारमा पटक-पटक जेल सजय भाेगिसकेका अन्सारीसहित सबै ६ जनालाई नै पक्राउ गरेको हो।
जाली नोट कारोबार गरेको आरोपमा जेल सजाय भोगिरहेका बेला उनलाई केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो।
को हुन् युनुस?
भारतीय नक्कली नोट र लागुऔषध मुद्दामा चार वर्ष कैद सजाय काटेर निस्किएका युनुस अन्सारीलाई भारतीय नक्कली नोटसहित २०७० माघमा नख्खुबाट पक्राउ गरिएको थियो। उनी २०७० असोजमा केन्द्रीय कारागारबाट छुटेका थिए। त्यसलगतै उनी नक्कली नोटसहित २०७० माघमा पक्राउ परे। त्यसबेला उनको साथबाट प्रहरीले ३४ लाख नक्कली भारतीय नोट फेला परेको थियो।
उनी पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा हुन्। अन्सारी पहिलोपटक २०६५ पुस १८ मा त्रिपुरेश्वरको ब्लुबर्ड होटलको कोठाबाट २५ लाख ४४ हजार नक्कली भारुसहित पक्राउ परेका थिए।
जेलमा हुँदा अन्सारीले बाबर भन्ने नाम प्रयोग गरी पाकिस्तान र दुबईबाट नक्कली भारु मगाउने गरेका थिए। उनी केन्द्रीय कारागारमा रहँदा उनकै योजनामा २०६७ असोजमा ल्याइएको ४० लाख ९० हजार जाली नोटसहित विमानस्थलबाट नेपाली नागरिक चोकट महतो पक्राउ परेका थिए।
अन्सारीलाई बयानका लागि अदालत लैजाँदै गर्दा जिल्ला अदालत काठमाडौं परिसर अगाडि र २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो।
उनलाई त्यसबेला भारत उत्तरप्रदेश लखनउ घर भएका जसजित भनिने मनमितसिंह भाटियाले गोली हानेका थिए।
नेपालमा भारतीय २ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।