काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेस यसपटक पनि संसद्मा औपचारिक विपक्षीको मान्यता पाउन असमर्थ भएको छ।
भारतीय संसद्मा विपक्षीको औपचारिक मान्यता पाउन कुल सिट ५ सय ५५ को १० प्रतिशत स्थानमा जित हासिल गर्नुपर्ने हुन्छ। एक्लै ५५ सिट जितेको पार्टीले मात्रै भारतीय संसद्मा विपक्षीको मान्यता पाउँछ।
यसपटकको लोकसभा चुनावमा पनि कांग्रेसले तोकिएको १० प्रतिशत कटाउन सकेको छैन। कांग्रेसले जम्मा ५२ सिटमा मात्रै जित हात पारेको छ।
अन्तिम मत परिणाम आउन १ सिटमा पनि भाजपाकै अग्रता छ। त्यो सिट कांग्रेसले नै जितेको खण्डमा पनि उसले विपक्षी दलको मान्यता पाउने छैन।
भारतको तल्लो सदन लोकसभामा कुल ५ सय ५५ सिट छन्। त्यसमध्ये ५ सय ४३ क्षेत्रमा चुनाव हुन्छ भने बाँकी २ सिटमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ।
बाँकी २ सिटमा राष्ट्रपतिले ‘एङ्लो—इन्डिया’ समुदायबाट नियुक्त गर्ने गर्छन्।
कांग्रेस सन् २०१४ को चुनावमा पनि विपक्षी दलको मान्यता पाउन असमर्थ भएको थियो। उक्त चुनावमा कांग्रेसले जम्मा ४४ सिट मात्रै हात पारेको थियो।
१७औं लोकसभा चुनावमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपाले) ऐतिहासिक सफलता प्राप्त गरेको छ।
यसपटक पनि भाजपा एक्लैले बहुमत प्राप्त गर्न सफल भएको छ। अघिल्लो चुनावमा भन्दा यो यसपटक भाजपाले आफ्नो मत बढाएको छ।
भाजपा एक्लैले ३०२ सिटमा विजय प्राप्त गरेको छ भने बाँकी रहेको १ सिटमा पनि उसकै अग्रता छ।
सन् २०१४ मा भाजपाले २ सय ८२ सिटमा जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।