विद्यालय हस्तान्तरणपछि अवलोकन गर्दै चिनियाँ राजदूत तथा पुनर्निर्माण प्राधिकरण प्रमुखलगायत।
काठमाडौं- भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाइस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाइस्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदूत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
भूकम्पले ध्वस्त बनाएको सो दरबार हाइस्कुलको मुख्य भवनको निर्माणको कार्य १० महिनाभित्रै सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए। ४६ कोठा रहेको सो चार तले भवनको फिनिसिङको काम भने ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य निर्माण कार्यमा संलग्न चीनको एससिजी कम्पनीले लिएको छ।
२० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल श्रावण १८ गतेबाट दरबार हाइस्कुलको निर्माण कार्य सुरु गरिएको थियो। तर, तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको पनि सो विद्यालयका प्रधानाध्यापक महतोले बताए।
कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिए। उनले सो दरबार हाइस्कुलको मुख्य भवनको बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे।
विसं २०१० सालमा स्थापना भएको दरबार हाइस्कुल नेपालको पहिलो आधुनिक हाइस्कुल हो। २०७२ साल बैसाख १२ गते आएको विनाशकारी भूकम्पले सो विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेकोे हो। आगामी मंसीर भित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने पनि हाइस्कुलका प्रधानाध्यापक महतोले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।