बनेपा– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ नमोबुद्धस्थित जङ्गलछेउमा दाप्चाबाट सामग्री बेचेर फर्किएको बा३ख ७३६४ नम्बरको गाडीमा हतियार देखाई लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्ला ऐँसेलुखर्क निवासी किशोर राई र गाडी चालक काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका–१ निवासी धर्मराज घोरसाइने रहेका छन्।
पक्राउमध्ये राई पैसा लुटेर फरार भएको र चालक घोरसाइनेको मिलेमतो रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। दुवैलाई डाँका मुद्दामा कारबाहीका लागि प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार दुई मोटरसाइकलमा आएका पाँच जनाको समूहले गत शुक्रबार धारिलो हतियार देखाई गाडी रोकी लुटपाट गरेका थिए। सो क्रममा करीब रु दुई लाख नगद, मोटरसाइकलको बिलबुक, नागरिकता र अन्य महत्वपूर्ण कागजातसमेत लुटेर लगेको पीडित व्यापारी चन्द्रकुमार श्रेष्ठले बताए। सो क्रममा गाडीका सहचालक रेशम दर्लामी मगरको एक थान मोबाइलसमेत लुटेर लगेको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।