काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेल तल्लो मुलपानी मैदानमा नहुने भएको छ। यसअघि तल्लो मैदानमा हुने भनिएको उद्घाटन समारोह पीच निर्माण नसकिएपछि नहुने भएको हो।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेसनलको व्यवस्थापनमा हुने प्रतियोगिताको उद्घाटन मुलपानीमा नहुने भएपछि शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ। समूह 'ए'मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन्। समूह बीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन्। यसअघिमुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको शुक्रबार खेल हुने तय थियो। अब भने प्रदेश २ र त्रिभुवन आर्मी क्लबबीच त्रिवि क्रिकेट मैदानमा हुनेछ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ। यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ।
खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउँने आयोजकले जनाएको छ। १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेप र त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ।
मुलपानी मैदानमा निर्माण कार्य हुँदै
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।