काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं ४ अन्तर्गतको वडा नम्बर ३० मा स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणको १० वटा निशुल्क शिविर हुने भएको छ।
पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको अगुवाइमा सो निर्वाचन क्षेत्रमा पिपुल्स हेल्थ कार्यक्रममार्फत उक्त परीक्षण शिविर गर्न लागिएको हो।
क्षेत्र नं ४ को संसदीय कार्यलयमार्फत आयोजना हुने उक्त शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि गरिने जनाइएको छ। शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३०ले पनि सहयोग गर्ने छन्।
वडाका १० स्थानमा हुने शिविर अबदेखि १० वटा शनिवार निरन्तर हुने छ। पहिलो शिविर आगामी शनिबार मैतिदेवी मन्दिर नजिक रहेको सनवे इन्टरनेसनल बिजनेस स्कुलमा हुने कार्यक्रम संयोजक दिपेश तामाङले जानकारी दिए।
शिविर सञ्चालन गर्नुअघि ती क्षेत्र वरिपरिका हरेक घरमा पुगेर शिविरको बारेमा जानकारी दिनुका साथै उक्त घरमा रहेका मानिसहरुको स्वास्थ्यको जानकारी लिने काम पनि हुने छ। पहिलो शिविरका लागि घर–घरमा पुगेर जानकारी लिने काम सुरु भइसकेको तामाङले जानकारी दिए।
पछिल्लो समय महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर बढ्दै गएको छ। समयमै रोगको पहिचान नहुँदा अन्तिम अवस्थामा मात्र बिरामी अस्पताल पुग्ने गरेका छन्। रोगले गाजेर अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने कारण धेरै बिरामीको ज्यान जोगाउन नसकिने चिकित्सकको भनाइ छ।
यो शिविरले वडा नम्बर ३० का मानिसको रोगको पहिचानमा सहयोग पुर्याउनुका साथै समयमा नै उपचार पाउने अवस्था सिर्जना गर्ने तामाङले जानकारी दिए।
वडा नम्बर ३० मा शिविर सम्पन्न भएपछि त्यसबाट आएको प्रतिक्रियाको आधारमा निर्वाचन क्षेत्रर ४ का अन्य वडा मा पनि शिविर सञ्चालन गर्ने बताइएको छ।
‘शिविरसँगै हरेक घरका मानिसको स्वास्थ्यको विवरण लिएपछि उक्त क्षेत्रमा के कस्ता कार्यक्रम आवश्यक छ भन्ने नीति बनाउन पनि सहयोग मिल्नेछ,’ उनले भने, ‘यसले बिरामीका साथै उक्त क्षेत्रमा आवश्यक स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन पनि सहयोग पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।