काठमाडौं- सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल सम्बन्धी विधेयक फिर्ता नहुने स्पष्ट पारेका छन्।
बिहीबार नेकपा निकट प्रेस संगठन नेपालको ज्ञापनपत्र बुझेपछि दिएको प्रतिक्रियामा उनले विधेयक पत्रकारिताको व्यवसायिक विकासकै लागि भएको बताए।
'व्यवसायिक शुद्धता, व्यवसायिक मर्यादा, व्यवसायिक सुरक्षा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक, सही र दिशानिर्देश गर्न सक्ने कुराहरुलाई हामी हमेशा स्वागत गर्छौं भनेकै छौं', प्रवक्ता बाँस्कोटाले भने, 'तर फिर्ता गर्ने कुराचाहिँ हुँदैन। त्यसको आफ्नै प्रक्रियाद्वारा यो अगाडि बढ्छ। र ती चिजहरुलाई ल्याएर समृद्ध बनाउने कुरा सबैलाई अनुरोध गर्न चाहन्छु।'
उनले विधेयकको इस्युलाई राजनीतिक इस्युसँग जोडिए सरकारलाई स्वीकार नहुने बताएका छन्।
बाँस्कोटाले प्रेसलाई कुण्ठित गर्ने मनशाय सरकारको नभएको स्पष्ट पारे।
फेक न्युज र पेड न्युजलाई नियन्त्रण गर्न केही गर्नुपर्ने आवश्यकता बाँस्कोटाले औंल्याएका थिए। आर्थिक स्वतन्त्रता स्थापित गराउने पक्षमा सरकार रहेको उनको दाबी छ।
पत्रकारहरुले प्रस्तावित विधेयकमा आपत्ति जनाएपछि बाँस्कोटाले अन्य कतिपय देशमा पनि यस्तो व्यवस्था भएको उदाहरण दिए। ‘संसारमा कहि नभएको व्यवस्था यहाँ गर्न खोजिएको होइन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।