काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पद छाड्नुपर्ने संकेत गर्दै युक्रेनलाई नयाँ राष्ट्रपति आवश्यक रहेको बताएका छन्।
रुससँगको युद्ध अन्त्य गर्न जेलेन्स्कीले पर्याप्त प्रयास नगरेको आरोप लगाउँदै ट्रम्पले उनी सम्झौता गर्न असफल भएको बताएका हुन्।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने,‘म उनीहरूले सम्झौता गर्न सक्ने नयाँ नेता ल्याऊन् भन्ने सुझाव दिन्छु, किनकि उनले धेरै सम्झौता गर्न सक्थे, तर कुनै कारणले त्यसो गर्दैनन्।’
ट्रम्पको यो अभिव्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसबाट डिजेल खरिद गर्ने सम्झौता गरेको भोलिपल्ट आएको हो। अमेरिकामा इन्धनको मूल्य बढिरहेका बेला ट्रम्पले रुसबाट डिजेल आपूर्ति गर्ने सहमति गरेका छन्। तर, युक्रेन र युरोपेली अधिकारीहरूले यसले रुसको युद्ध खर्च जुटाउन सहयोग पुग्ने भन्दै असन्तुष्टि जनाएका छन्।
ट्रम्पले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा युक्रेनलाई दोष दिएका छन्। उनले युक्रेनले रुसी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्नुपर्ने माग गर्दै आएका छन्। इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको अवस्थामा ट्रम्पले अमेरिकी इन्धन मूल्यवृद्धिको दोष युक्रेनमाथि लगाएका हुन्।
‘ऊ विश्वका लागि समस्या सिर्जना गर्न चाहन्छ। ऊ हाम्रा किसान र पशुपालकका लागि डिजेलको समस्या खडा गर्न चाहन्छ,’ ट्रम्पले भने।
उनले सन् २०२२ मा आफू अमेरिकी राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध सुरु नै नहुने दाबीसमेत गरे। उनका अनुसार उक्त युद्ध सुरु हुनुको कुनै कारण थिएन र नेतृत्वको अक्षमताका कारण युद्ध भएको हो।
ट्रम्पले युक्रेनले आफ्नो ३० प्रतिशत भूभाग गुमाएको र युद्धमा ठूलो संख्यामा मानिस मारिएको दाबी गर्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन्। यद्यपि, स्वतन्त्र अनुमानअनुसार युक्रेनको करिब २० प्रतिशत भूभाग रुसको नियन्त्रणमा छ। युद्धमा मारिएका युक्रेनी नागरिक तथा सैनिकको कुल संख्याबारे विश्वसनीय पछिल्लो तथ्यांक उपलब्ध छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।