काठमाडौँ- काभ्रेपलान्चोक जिल्ला अदालतले काभ्रे जिल्ला मण्डनदेउपुर-६, सिपाघाटकी सरिता दुलालको हत्यामा संलग्न भएको आरोपमा श्रीमानसहित परिवारका ५ सदस्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
जिल्ला अदालत, काभ्रेले बिहीबार श्रीमान् सुदीप दुलाल, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीतालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो।
तत्काल प्राप्त प्रमाण अनुसार परिवारका सबै सदस्यहरुको मिलेमतोमा हत्या भएको हुनसक्ने भन्दै थुनामा पठाउने आदेश गरेको हो।
न्यायाधीश दुर्गा खड्काको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
१३ वैशाखमा सरिताको घाँटीमा थिचेर हत्या गरिएको थियो । परिबारका सदस्यले पारिवारिक विवादमा उनको हत्या गरेको आरोप लाग्दै आएको थियो।
पक्राउ परेका ४ जना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि सरिताका श्रीमान सुदिपले सामुहिक रुपमा हत्या गरेको बयान दिएपछि सवैलाई थुनामा पठाएको हो।
अन्य प्रमाणबाट पनि परिवारका अन्य व्यक्ति कसुरदार होइनन् भन्ने आधार नदेखिएको आदेशमा उल्लेख छ।
प्रहरीको दाबी अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम रिपोर्टले पनि सरिताको हत्या एक जना व्यक्तिबाट मात्रै नभएको देखाएको थियो।
पोष्टमार्टम र श्रीमानको बयानपछि जिल्ला न्यायाधीशले परिबारका सवै सदस्यलाई थुनामा पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।