भद्रपुर- झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ। तीन महिला मात्र बस्दै आएको एक घरमा राति सो घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन्। आक्रमणको घटना राति भए पनि आज बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए।
एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसकी बिरामी वृद्धा सासू थिइन्।
टाउकोमा धारिलो हतियारको चोट लागेकी घाइते आरतीलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल लगिएको र सामान्य घाइते अवस्थाकी उनकी छोरी अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ।
घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन्। सो घरसँगै जोडिएको अर्को घरमा कोही पनि बस्दैनन् भने अरु घर केही टाढा छन्। छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँ रगताम्य थियो।
गाउँलेले खबर गरेपछि घटनास्थलमा धुलाबारी इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनाली प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा जुटेका छन्।
बालिका अर्पणाले दुई व्यक्ति कोठामा पसेर आक्रमण गरेको र आफूलाई कराएमा मारिदिने धम्की दिँदै घाँटीमा हातले च्यापेर हुत्याइदिएको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।