लुम्बिनी- संसदीय मामिला पत्रकारहरुको अन्तरप्रदेश सम्मेलन ६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ।
संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको संसदीय पत्रकार अन्तर–प्रदेश सम्मेलनले संसदीय मामिला पत्रकारहरुले सञ्चारसम्बन्धी ऐन, कानुन निर्माण तथा संशोधन एवम् कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायसँगको गहन छलफल र सुझावसहित सञ्चारमैत्री बनाउन माग गरेको छ।
सम्मेलनले राज्यको पुनर्संरचनापछि संघीय पद्दतिअन्तर्गत प्रदेशसभाको व्यवस्था नौलो र प्रदेशस्तरमा संसदीय क्षेत्रमा कलम चलाउने विषय पत्रकारहरुको लागि पनि नितान्त नौलो रहेकोले पत्रकारहरुको क्षमता अभिवृद्धिको व्यवस्था गर्न ७ वटै प्रदेशका प्रदेशसभा र प्रदेश सरकारसँग माग गरेको छ।
यस्तै सम्मेलनले प्रदेशसभामा रिर्पोटिङ गर्नका लागि पत्रकारहरुलाई सहज वातावरण बनाउन, मिडिया सेन्टर स्थापना गर्न, विभिन्न माध्यमहरुबाट ज्ञान एवम् अनुभव आदान प्रदान गर्न, अर्थपूर्ण सहभागिताका लागि तथा सूचना प्राप्त गर्ने सहज वातावरण बनाउनका लागि माग गरेको छ।
संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का सल्लाहकार भरत केसीको संयोजकत्वमा बनेको घोषणापत्र तयारी समितिमा प्रदेश १ का अध्यक्ष गणेश लम्साल, २ का उपाध्यक्ष कैलाश दास, ३ का अध्यक्ष राममणि दाहाल, गण्डकीका सचिव विशन क्षेत्री, कर्णालीका शेरबहादुर थापा र सुदुरपश्चिमका प्रकाशविक्रम शाह सदस्य रहेका थिए।
अन्तरप्रदेश सञ्जाल गठन
संसदीय पत्रकारहरुबीच समन्वय, सहकार्य र संयुक्त कार्यक्रम, अनुसन्धान र अध्ययनलाई सहज बनाउन संसदीय पत्रकार अन्तर प्रदेश सञ्जाल गठन भएको छ।
प्रदेश ५ का अध्यक्ष विष्णुप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरिएकोे सञ्जालमा संसदीय मामिला पत्रकार समाज प्रदेश १ का अध्यक्ष गणेश लम्साल, प्रदेश २ कि अध्यक्ष मोनिका झा, प्रदेश ३ कि अध्यक्ष राममणि दाहाल, गण्डकी प्रदेशका अध्यक्ष लालप्रसाद शर्मा, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा, सुदुरपश्चिम प्रदेशका अध्यक्ष प्रकाशविक्रम शाह र प्रदेश ५ का महासचिव सिपी खनाल सदस्य सचिव रहेका छन्।
सञ्जालको पदेन सल्लाहकारमा संसदीय मामिला पत्रकार समाज, काठमाडौंका अध्यक्ष नारायण काफ्ले रहेका छन्।
सञ्जालले संसदीय पत्रकारहरुबीच अनुभव आदानप्रदान, साझा समस्या, चुनौती र अवसर पहिचान गर्नका लागि साझा कार्ययोजना निर्माण गर्नेछ। यसका लागि अर्को भेला आह्वान गर्दै संयुक्त कार्यक्रमका लागि तयारी गर्ने निर्णयसमेत गरेको छ।
३ दिने तालिम समापन
संसदीय मामिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले आयोजना गरेको तालिम सकिएको छ।
संसद सहयोग परियोजना युएनडिपीको सहकार्यमा भएको तालिममा ७ वटै प्रदेशका ४० जना संसदीय पत्रकारको सहभागिता रहेको थियो।
खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, वरिष्ठ पत्रकार तारानाथ दाहाल र डिआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास, प्रदेशसभामा पत्रकारिताको अभ्यास र चुनौती, संसद्, संसदीय समितिहरुमा समाचारका श्रोत, संसदमा खोज पत्रकारितालगायतका विषयमा सहजीकरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।