हुम्ला- कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री बुधबार फिर्ता भएका छन्। सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको सन भ्याली रिसोर्टका व्यवस्थापक निमा लामाले जानकारी दिइन्।
प्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ दूतावासमा पठाएको भए पनि दूतावासले ५५ लाई मात्र कैलाश मानसरोवर दर्शनको प्रवेशाज्ञा दिएको छ। सिमकोट पुगेर पनि दर्शन गर्न जानका लागि चिनियाँ दूतावासले प्रवेशाज्ञा नदिँदा दुःख लागेको भारतीय तीर्थयात्री रेशमले बताए।
उनले भने, 'हामीले दुःख मात्र पायौँ, बल्लतल्ल कार्यालयको समय मिलाएर कैलाश मानसरोवर दर्शनका लागि आइयो तर प्रवेशाज्ञा पाउन सकेनौँ।'
शनिबारदेखि बुधबारसम्म हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि ३ सय ३ महिला र ३ सय ५९ पुरुष गरी ६ सय ९२ भारतीय तीर्थयात्री सिमकोट पुगेका छन्। तीर्थयात्रीको चाप बढेपछि सिमकोट–हिल्साका लागी दुई वटा सिम्रिक, दुई वटा समीट र एउटा माउन्टेन गरी पाँच हेलिकप्टरले बिहानदेखि बेलुकासम्म उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ।
२ हजारले लिए सीमा पास
जिल्ला प्रशासन कार्यालय हुम्लाबाट चैत महिनादेखि जेठ पहिलो सातासम्म २ हजार २ सय ५८ जनालाई सीमा पास दिइएको छ। यो वर्ष मात्रै जिल्ला प्रशासन कार्यालय हुम्लाले ९ सय २ जनालाई नयाँ सीमा पास दिएको र एक हजार ३ सय ५६ जनाको नवीकरण गरेको छ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा चैत्रदेखि अहिलेसम्म २ सय ३३ जनाको नवीकरण र १ सय ७० जनाको नयाँ सीमा पास प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयले सीमा पास र नागरिकता पाउन ७ देखि ८ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ। त्यहाँका स्थानीयको समस्यालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय हुम्लाले हरेक वर्ष गाउँमा पुगेर सीमा पास र नागरिकता वितरण गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।