काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बार्बाडोस ट्रिडेन्ट्समा आवद्ध भएका छन्।
बुधबार भएको ड्राफ्टको चौथो राउन्डमा बार्बाडोसले सन्दीपलाई आवद्ध गरेको हो। सन्दीप ७० हजार अमेरिकी डलरमा आवद्ध भएका हुन्। बार्बाडोसले अहिलेसम्म जासन होल्डर, एलेक्स हल्स, असिफ अली, वाहेब रियाज र जोनसन चाल्सलाई भित्र्याइसकेको छ।
सन्दीप गत संस्करणमा सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। ५ हजार डलरमा आबद्ध उनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५ खेलमा ७ विकेट लिन सफल भएका थिए।
ड्राफ्टको सूचीमा नेपालका चार जना खेलाडी दर्ता भएका छन्। नेपालबाट सन्दीप लामिछाने दोस्रो पटक पर्दा तीव्र गतिका बलर सोमपाल कामी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा छन्। सन्दीप बाहेक अन्य खेलाडीलाई अहिलेसम्म कुनै पनि टिमले भित्र्याएका छैनन्।
ड्राफ्टमा नेपालका चार खेलाडीसहित २० देशका ५ सय ३६ खेलाडी छन्।
सिपिएल आगामी ४ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्। जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।