काठमाडौं– नेपालकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले भारतीय महिला फुटबल लिगको फाइनल खेलमा २ गोल गरेपछि सेथु फुटबल क्लब च्याम्पियन बनेको छ।
बुधबार भएको फाइनलमा सेथुले उत्कृष्ट पुनरागमन गर्ने क्रममा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३–१ गोलले हराएर उपाधि जितेको हो।
खेलमा अग्रता भने मणिपुरले लिएको थियो। खेलको ४४ मिनेटमा राधारानी देवीले गोल गरेर मणिपुरलाई अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा सेथु खेलमा फर्कियो। ५६ मिनेटमा ग्रेसले गोल गरेर खेललाई बराबरीमा ल्याइन्।
.jpg)
खेलको ६१ मिनेटमा सावित्राले गोल गर्दै सेथुलाई अग्रता दिलाइन्। ७० मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि सेथु ३–१ ले अघि बढेको थियो।
लिग चरणमा सबै खेल जितेको सेथुले सेमिफाइनलमा सेन्ट्रल एसएसबी महिला टिमलाई ८–१ ले पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो।
सेथुले समूह चरणमा ५ जितसहित लगातार ७ खेलमा विजयी हासिल गरेर लिगको उपाधि जितेको हो। त्यसक्रममका सेथुले ४५ गोल गरेको थियो। ४५ मध्ये सावित्राले १५ गोल गरिन् भने तीन ह्याट्रिक गरिन्।
फाइनलमा २ गोल गरेकी सावित्राले सेमिफाइनलमा सेन्ट्रल एसएसबी ४ गोल गरेकी थिइन्। यस्तै उनले लिग चरणमा कोल्हापुर सिटीविरुद्ध ३ गोल, साइ कुटाक १ गोल, बैंग्लोरविरुद्ध १ गोल र मनिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ४ गोल गरेकी थिइन्।

सेथुमा नेपालकी मिडफिल्डर अनिता बस्नेत पनि आवद्ध थिइन्। तर उनले सवै खेलमा मौका पाउन सकिनन्। उनले बैंग्लोरविरुद्ध डेब्यू गर्दा १ गोल गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।