काठमाडौं- अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौँको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षरोपण गरेको छ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे।
कार्यक्रममा मन्त्री बस्नेतले मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आम नागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।
सरकार एक्लैले जैविक विविधता संरक्षण गर्न नसक्ने भन्दै उनले आमनागरिकको सहभागिताका लागि अपिल गरे।
‘जैविक विविधताको संरक्षण सरकार एक्लैले गरेर सम्भव छैन,' मन्त्री बस्नेतले भने, ‘सरकारले नेतृत्व लिन्छ। स्थानीय समुदाय र निजी क्षेत्रले सरकारलाई सघाउनुपर्छ।’
सरकारले जैविक विविधता संरक्षणलाई आफ्नो प्राथमिक कार्यसूचीमा राखेको भन्दै मन्त्री बस्नेतले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पर्याप्त ध्यान दिइएको जानकारी दिए।
सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।