काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गतल नियत बोकेका कुनै पनि विधेयक संसदका प्रवेश गर्न नदिने चेतावनी सरकारलाई दिएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले सञ्चार माध्यम र मानव अधिकार आयोगलगायत विधेयकको विपक्षमा सधैँ उभिने चेतावनी दिँदै सच्याउन माग गरिन्।
‘सरकारले जुन किसिमले गलत नियत राखेरका विधेयकहरु संसदमा पेस गर्दैछ, हामी त्यसको सशक्त विरोधमा उत्रन्छौं,’ उनले भनिन्, ‘लोकतन्त्रलाई कुन्ठित हुने गरी गलत नियतको मुहार बोकेको विधेयक आउँछ भने प्रतिपक्षलाई स्वीकार हुँदैन।’ नेता भुसालले मिडिया काउन्सिल विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐन संशोधन विधेयक सरकारले गलत र नियन्त्रणकारी मनसाय राखेर ल्याएको आरोप लगाइन्।
‘हामी मानव अधिकारको हिमायती भन्दै आएका छौं। २० भन्दा धेरै महासन्धीमा हस्ताक्षर गरेका छौं,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा हामी मानव अधिकारको पक्षमा भनेर थाक्दैनौं तर सरकारले मानव अधिकार आयोग ऐन संशोधनका लागि दर्ता गराएको विधेयकमा किन संविधानले दिएको अधिकार खोसियो?’
निष्पक्ष र तटस्थ रुपमा काम गर्न दिन भन्ने अन्तरिम संविधानमा दलहरुको सहमतिमै लेखेको स्मरण गराउँदै भुसालले अहिले आएर राज्यले नियन्त्रण गर्न खोज्नुले गलत नियत देखिएको बताइन्।
‘नेपाल सरकारले मानव अधिकारले अनुसन्धान गर्ने?,’ भुषालले भनिन्, ‘मानव अधिकार आयोगलाई महान्यायाधिवक्ताको अनुसन्धान अधिकार बनाउने अधिकार कहाँबाट दिन खोजिँदै छ।’ मानव अधिकार आयोगको अधिकार कुन्ठित हुने गरी जुन विधेयक ल्याइँदै छ त्यो प्रतिपक्षलाई स्वीकार नभएकाले फिर्ता लिएर सबै पक्षको सहमतिमा पुनः ल्याउन उनले माग गरिन्।
कांग्रेस सचेतक भुसालले संविधानको मूल्य र मान्यताविपरीत प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिन्। सचेतक भुसालले सरकारले संसदमा पेस गरेको सो विधेयक मुलुकको लोकतन्त्रले नचिन्ने र आफूहरुले नबुझ्ने भएकाले त्यसलाई सरकारले संसदबाट फिर्ता गराउनुको विकल्प नरहेको तर्क पनि गरिन्।
‘मुलुकको लोकतन्त्रले नचिन्ने, हामीले नबुझ्ने सो विधेयक तत्काल फिर्ता लिन हामी सरकारसँग जोडदार माग गर्दछौं,’ सचेतक भुसालले भनिन्, ‘सरकारले सो विधेयक तत्काल फिर्ता नलिए संसदबाट अघि बढाउन नसक्ने जानकारी गराउँछु।’
सचेतक भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरण प्रवेश गराउने गरी आएको सो विधेयक आफ्नो पार्टीलाई स्विकार्य नहुने पनि बताइन्।
सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खोजेको सचेतक भुसालको आरोप थियो।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।