भरतपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड अभियोगमा प्रहरीले पक्राउ गरेका ३ जना मङ्गलबार धरौटीमा रिहा भएका छन्।
रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी प्रतिव्यक्ति ५४ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गरिएको जानकारी दिए। उनले प्रहरीलाई पेट्रोल छर्कने मुख्य व्यक्ति भने फरार रहेको र खोजी भइरहेको बताए।
प्रहरीले गिरीलाई ५ दिन तथा लामिछाने र घिमिरेलाई ३ दिन हिरासतमा राखेर धरौटीमा छाडेको हो। घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछाने, घिमिरे र गिरीलाई पक्राउ गरिएको थियो। सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालिले गिरीसहित उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो।
सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब ४ लाख रुपैयाँसमेत लुटिएकाले उजुरी गरेका थिए। प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी छिन्। खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय छलफलमा घटनामा संलग्नलाई कारबाही, घाइतेको उपचार र ढाँट सार्न पहल गर्ने सहमति भएको थियो। समाचार-रासस/तस्बिर-ग्रेट एफएम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।