जनकपुर- प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सोच सकारात्मक भए शौचालय बन्ने बताएका छन्।
जनकपुरधाममा मंगलबार आयोजित खुला दिशामुक्त अभियान सम्बन्धी कार्यशालामा बोल्दै धनुषा र महोत्तरीलाई खुला दिशामुक्त अभियानमा सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताए।
शौचालय बनाउन नसक्ने परिवारका लागि प्रदेश सरकार सार्वजनिक शौचालय निर्माण गर्न तयार रहेको मुख्यमन्त्री राउतको भनाई थियो।
धनुषा र महोत्तरीका पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरूको कार्यशालामा उनले प्रदेशलाई खुला दिशामुक्त घोषणा गराउन अघि बढनको लागि आग्रह गरे।
सम्पूर्ण प्रदेशबासीको महत्वपूर्ण अभिभारा खुला दिशामुक्त एवं स्वच्छ बनाऔं, गाउँ शहर सारा भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश–२ ले आयोजना गरेको कार्यशालामा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियान अन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरूमा शौचालय निर्माण गर्न लागेको बताए।
धनुषा र महोत्तरीका पालिका प्रमुखहरूले आउँदो असार १५ सम्म आफ्नो पालिकालाई खुला दिशामुक्त घोषणा गर्ने प्रतिवद्धता जाहेर गरे। धनुषाका ९५ र महोत्तरीका ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण कार्य भइसकेको तथ्यांकहरूले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।