जनकपुर- प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बृहत्तर विकासका लागि जनकपुर बौद्धिक समाजले प्रदेश प्रमुख, मुख्यमन्त्रीसहित सम्बन्धित मन्त्रालय र नीति आयोगका उपाध्यक्षलाई ७६ सूत्रीय सुझाव पत्र बुझाएको छ।
समाजका अध्यक्ष राजेश्वर नेपालको अगुवाइमा समाजका पदाधिकारी र नागरिक समाजका अगुवाहरुको संयुक्त टोलीले जनकपुरधामको बृहत्तर विकासका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री रामनरेश राय र नीति आयोगका उपाध्यक्ष हरिवंश झालाई सो सुझावपत्र बुझाएका हुन्।
सम्बन्धित निकायलाई बुझाइएको सो सुझावपत्रमा जानकी नवमी र विवाह पञ्चमी महोत्सवमा संघीय सरकारबाट पनि विदाको घोषणाका लागि पहल, धार्मिक तथा आध्यात्मिक विकास गरी जनकपुरधामलाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्नुपर्ने उल्लेख छ।
यसैगरी, यस क्षेत्रभित्रका मठ मन्दिर, पोखरी तलाउको संरक्षण तथा सम्वद्र्धन, राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने, धार्मिक पोखरीहरुको वरिपरि वृक्षरोपण गरी पार्क निर्माण, मठ मन्दिरहरुको जग्गामा निर्मित घर टहरा हटाएर अध्यात्मिक किर्तन भजनको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिइएको छ।
त्यस्तै ज्ञानकुप देखि दुधमति नदीसम्म राष्ट्रिय उद्यानको स्थापना, सीता स्वयम्बर स्थल रंगभूमि मैदानलाई सीता स्वयम्बर आबद्ध दृश्य निर्माण गरी त्यसको ऐतिहासिकताको संरक्षण गर्नुपर्ने, मनिमण्डपको छेउको रानी पर्तिमा जनक दरवारको निर्माण, सीता शोध प्रतिष्ठानको स्थापना गरी सीता चरित्रसित सम्वद्ध दुर्लभ पाण्डुलिपिहरु संकलन गरी संरक्षण गर्नुपर्नेलगायत सुझाव उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।