काठमाडौँ- व्यापारी अजय सुमार्गीले आन्तरिक राजश्व कार्यालयले लाभकर नतिरेको भनी सार्वजनिक सूचनाको खण्डन गर्दै राजश्व तिर्न जादाँ बुझ्न अस्वीकार गरेको दाबी गरेका छन्।
राजश्व कार्यालयले १५ दिनको सूचना दिँदै ४ अर्ब बराबरको राजश्व बुझाउन सूचना जारी गरेपछि त्यसको भोलिपल्ट सुमार्गीले जेठ १ गते कर तिर्न जादाँ लिन अस्वीकार गरेको दाबी गरेका छन्। राजश्व कार्यालयले विद्युतीय माध्यमबाट पठाएको भनी भ्रमपूर्ण र कपोकल्पित सूचना जारी गरेको दाबी सुमार्गीले गरेका छन्।
राजश्व कार्यालयले अगाडी मिति राखेर नियतवश सोमबार सूचना जारी गरेको दाबी सुमार्गीले गरेका छन्। जेठ ३ गतेको मितिमा जारी भएको सूचना ६ गतेमात्र सार्वजनिक गर्दै कर कार्यालयले आफू विरुद्ध गलत प्रचार गरेको आरोप सुमार्गीले लगाएका छन्।
एनसेलको शेयर खरिद बिक्रीमा सुमार्गीले आफ्नो कम्पनी ‘हेल्लो नेपाल’ब्राण्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम'को लाभकर नतिरेपछि आन्तरिक राजश्व कार्यालयले पत्र लेखेको छ।
पटकपटक कर तिर्न ताकेता गर्दा अस्वीकार गरेपछि सुमार्गीका नाममा राजश्व कार्यालयले पत्र लेखेको हो।
सुमार्गीले ७ वर्षअघि ‘नेपाल स्याटेलाइट टेलिकम’को शेयर टेलियासोनेरालाई बिक्री गर्दा प्राप्त पूँजीगत लाभ बापतको कर नतिरेको कार्यालयको सूचनामा उल्लेख छ।
‘हेल्लो नेपाल’को कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’ को ७५ प्रतिशत स्वामित्व टेलियासोनेराले ५ अर्ब ६३ करोड ५० लाखमा खरीद गरेको थियो। तर उक्त खरिद बिक्रीको लाभकर नपाएपछि १५ दिनको समयम दिँदै राजश्व कार्यालयले सूचना जारी गरेको हो।
आयकर ऐनले २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ वैशाखमा आन्तरिक राजश्व कार्यालयले उक्त कम्पनीलाई १ अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको थियो।
उक्त रकमका ब्याजसमेत जोड्दा असुल गर्नुपर्ने बक्यौता ४ अर्ब ३१ करोड पुगेको कार्यालयले जनाएको छ। विदेशबाट भित्र्याएको लगानी विवादमा रहेको समयमा सुमार्गी पुनः नयाँ कर छलीमा संलग्न भएको पाइएको छ।
सोही रकम ‘असुल गर्नु नपर्ने ठोस प्रमाण भए पेश गर्न’ अनुरोध सूचनामा गरिएको छ। त्यसमा कम्पनीले जवाफ दिएपछि ३१ वैशाखमा अन्तिम कर निर्धारण गरिएको सूचनामा उल्लेख छ।
अन्तिम कर निर्धारण भएपछि रकम भुक्तानी गर्न आग्रह गर्दै पत्राचार गर्दा कम्पनीले पत्र बुझ्न अस्वीकार गरेपछि राजश्व कार्यालयले इमेल र हुलाकमार्फत पत्र पठाएको थियो। त्यसको पनि जवाफ नआएपछि कार्यालयले नयाँ सूचना जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।