प्युठान- प्युठानको सरुमारानी गाउँपालिका-४ बड्डडाँडाका एक वृद्धले ८६ लाख सरकारी मूल्य बराबरको जग्गा विद्यालयलाई निःशुल्क दान गरेका छन्।
बड्डडाँडाका स्थानीय ६८ वर्षीय वृद्ध घनबहादुर पल्लीले जनता माध्यमिक विद्यालयका लागि ८६ लाख मूल्य बराबरको जग्गा दान गरेका हुन्।
उनले प्युठान भालुवाङ सडक छेउको २ रोपनी १० आना २ पैसा ३ दाम जग्गा विद्यालयका लागि निःशुल्क दान गरे। उनले दान गरेको उक्त जग्गा विद्यालयको नाममा पास भइसकेको विद्यालयका प्रधानाध्यापक योगकुमार पाण्डेले जानकारी दिए।
इलाका प्रशासन कार्यालय जस्पुरमा मंगलबार विद्यालयको नाममा जग्गा पास गरिदिएको प्रअ पाण्डेले जानकारी दिए।
वृद्ध पल्लीले आफ्ना स्वर्गीय बुवाआमा कुलबीर पल्ली र देउकी देवी पल्ली मगरको संझनामा जग्गा विद्यालयलाई दान गरेका हुन्। ‘स्कुल हाम्रा भावी सन्ततिको भविष्य बनाउने स्थल हो,’ पल्लीले भने, 'विद्यालयको शैक्षिक तथा आर्थिक गुणस्तर सुधारका लागि मेरा बाआमाका नाममा स्कुललाई जग्गा दिएको हुँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।