काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा केही जिल्लामा कतिपय उम्मेदवार फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई पछि पार्दै जित उन्मुख देखिएका छन्। यसरी जित उन्मुख देखिनेमा वाम गठबन्धनका उम्मेदवारहरु रहेका छन्।
उनीहरुले ५ हजारभन्दा धेरै मतान्तरले अग्रता लिएकाले जित उन्मुख देखिन्छन्। राष्ट्रिय राजनीतिमा चर्चामा रहेका उनीहरु आफ्नो क्षेत्रमा ‘हेभीवेट’को छवि अनुसार मत पाउन सफल हुने देखिएको छ।
योगेश भट्टराई (ताप्लेजुङ)
संविधानसभाको अघिल्ला दुई निर्वाचनमा काठमाडौंबाट पराजित एमालेका सचिव योगेश भट्टराईले विगतको नतिजा बिर्साउँदै सर्वाधिक मतले अग्रता लिन सफल भएका छन्।
पछिल्लो गणना अनुसार, उम्मेदवार भट्टराईले आफ्ना प्रतिस्पर्धी कांग्रेसका केशव दाहालसँग ७ हजारभन्दा बढीको मतान्तर कायम राख्दै अग्रता लिइरहेका छन्। यो समाचार तयार पार्दासम्म भट्टराईले १९ हजार ६० मत प्राप्त गरेका छन् भने उनका कांग्रेसका दाहालको ११ हजार ७ सय ५८ मत छ।
आफ्नो जन्मथलो ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनमा होमिएपछि भट्टराईले पुरानो छवि मेटाउँदै जितको बलियो सम्भावना देखाएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका दाहाल तिनै उम्मेदवार हुन्, जो केही अगाडिको स्थानीय तह निर्वाचनमा ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयर पदमा एमालेका छत्रपति प्याकुरेलसँग हारेका थिए।
भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा नेकपा माओवादी केन्द्रका हितमान शाक्यसँग पराजित भएका थिए भने ०७० सालको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले उनलाई हराएका थिए।
पराजित गरेका थिए ।
कुल मतदाता ८० हजार रहेको ताप्लेजुङमा ७८ हजार ३ सय ९७ मत खसेको थियो।
जनार्दन शर्मा (रुकुम पश्चिम)
नेकपा माओवादीका प्रभावशाली नेतामध्येका जनार्दन शर्मा पूर्व लडाकु प्रमुख हुँदै पछिल्लो समय सफल ऊर्जामन्त्री बनेर चर्चामा थिए।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालका प्रिय र हेडक्वाटरसम्म पहुँच भएका कारण शर्मा प्रभावशाली मानिन्छन्।
शर्माले जारी मतगणना अनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका गोपालजीजंग शाहसँग करिब १६ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्। यो समाचार तयार पार्दासम्म शर्माले २८ हजार ३ सय ८४ मत पाएका छन् भने कांंग्रेसका शाहले १२ हजार १ सय ११ मत ल्याएका छन्।
अहिलेसम्म मतगणना जारी रहेका क्षेत्रको अवस्था हेर्दा शर्मा सर्वाधिक मतले अग्रता लिएका माओवादी उम्मेदवार हुन्।
अग्नि सापकोटा (सिन्धुपाल्चोक १)
वाम गठबन्धन बनेपछि सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ र २ मध्ये कहाँबाट उठ्ने भनी दोधारमा पर्दै अन्ततः १ नम्बरमा उठेका अग्नि सापकोटा त्यहाँ बाजी मार्ने लक्ष्यसहित अघि बढिरहेका छन्।
बहालवाला सञ्चारमन्त्री नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतसँगको चुनावी प्रतिस्पर्धामा सापकोटाले सुरुदेखि नै अग्रता लिइरहेका छन्। सापकोटा बस्नेतसँग ५ हजारभन्दा बढी मतान्तर कायम राख्दै अघि बढिरहेका छन्। यो समाचार तयार पार्दासम्म सापकोटाको २३ हजार ४ सय १७ मत छ भने बस्नेतले १७ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्। सिन्धुपाल्चोक १ मा ७७ हजार मत खसेको थियो।
सिन्धुपाल्चोकको दुवै क्षेत्रमा वाम गठबन्धन नै अगाडि छ।
पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तीन क्षेत्र रहेको सिन्धुपाल्चोकमा दुई क्षेत्र मात्र भएपछि सापकोटाले बस्नेतलाई प्रतिस्पर्धीका रुपमा पाएका थिए।
गणेशसिंह ठगुन्ना (दार्चुला १)
दार्चुला प्रतिनिधिसभा क्षेत्रका १ का एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाले यो समाचार तयार पार्दासम्म आफ्ना प्रतिस्पर्धीलाई ५ हजार ३ सय ३३ मतले पछि पारेका छन्।
उक्त क्षेत्रमा जारी मतगणनामा ठगुन्नाले २० हजार ६ सय २५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका विक्रमसिंह धामीले १५ हजार २ सय ९२ मत पाएका छन्।
एमालेका केन्द्रीय सदस्य ठगुन्नाले अघिल्लो संविधानसभा निर्वाचनमा हात पारेको विजयलाई पछ्याउँदै नयाँ संविधानपछिको प्रतिनिधिसभामा पनि जित हात पार्न अघि बढिरहेका छन्। ठगुन्ना एमालेको दार्चुला जिल्ला इञ्चार्ज समेत हुन्।
०४५ सालदेखि राजनीतिमा सक्रिय ठगुन्ना चारपटक जिल्लाको पार्टी प्रमुख भएका थिए। ०५४ सालको स्थानीय चुनावमा एमालेले बहुमत ल्याएपछि उनी जिल्ला विकास समिति दार्चुलाको सभापति भएका थिए। ०६४ सालको पहिलो संविधानसभा चुनावमा पराजित भए पनि ०७० सालको दोस्रो चुनावमा भने कांग्रेसका तत्कालीन पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूलाई जित हात पारेका थिए।
भूमि त्रिपाठी (धादिङ १)
धादिङ क्षेत्र नम्बर १ मा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अहिलेसम्मको गणना अनुसार आफ्ना प्रतिस्पर्धी कांग्रेसका विश्वप्रसाद अर्याललाई ११ हजार ७ सय ६६ मतान्तरले पछि पारेका छन्।
यो समाचार तयार पार्दासम्म एमालेका त्रिपाठीले २१ हजार ४ सय ८९ मत पाएका छन् भने अर्यालले ९ हजार ७ सय २३ मत पाएका छन्। कानुनमा स्नातक र राजनितिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका त्रिपाठीले राजेन्द्र पाण्डे प्रदेशको निर्वाचन लड्न गएसँगै प्रतिनिधिसभामा उम्मेदवार हुने मौका पाएका थिए। काठमाडौं जिल्ला अदालतमा क्रियाशील कानुन व्यवसायी रहेका त्रिपाठी निर्वाचनका लागि धादिङ गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।