काठमाडौं– भारतीय महिला लिगमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले तेस्रो ह्याट्रिक गरेकी छिन्। सेथु एफसीकी फरवार्ड सावित्राले सोमबार ४ गोल गरेकी हुन्। यसअघि उनले कोल्हापुर र मणिपुरविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन्।
सावित्राको उत्कृष्ट प्रदर्शनसँगै सेथुले सेन्ट्रल एसएसबी महिला टिमलाई ८–१ ले पराजित गरेको छ। जितसँगै सेथु फाइनलमा प्रवेश गरेको छ।
अब उपाधिका लागि सेथुले बुधबार मणिपुर पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मणिपुरले सोमबार नै भएको पहिलो सेमिफाइनलमा गोकुलम केरलालाई ४–२ ले पराजित गरेर फाइनलमा स्थान पक्का गरेको छ।
सोमबार सावित्राले ४२ मिनेटमा पहिलो गोल गरिन्। ६१ मिनेटमा दोस्रो गोल गरेकी सावित्राले ६९ मिनेटमा ह्याट्रिक पूरा गरिन्। सावित्राले खेलको ९० मिनेटमा चौथो गोल गरेकी थिइन्।
योसँगै सावित्राले जारी प्रतियोगितामा १३ गोल गरिन्। यसअघि उनले लिग चरणमा कोल्हापुर सिटीविरुद्ध ह्याट्रिक गरेकी थिइन्। साइ कुटाक र बैंग्लोरविरुद्ध १–१ गोल सावित्राले पहिलो खेलमा मनिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ४ गोल गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।