–नीरज गौतम/रासस
नेपालगञ्ज- बाँकेको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ।
भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले यसको चित्रण गरेको छ।
यहाँको माइती नेपालमा आफन्त खोजीको निवेदन दिनेको सङ्ख्या विगत १६ वर्षको अवधिमा करिब ५ हजार पुगेको तथ्याङ्कमा उल्लेख छ। यस वर्षको ९ महिनाको अवधिमा करिब ४ सयभन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन्।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ। 'बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ,' संयोजक कोइरालाको भनाइ छ।
केही समयअघि मात्र दिल्ली पुर्याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो। त्यसअघि पनि ३ जना महिलाको उद्धार दिल्लीबाटै भएको थियो।
कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ। संयोजक कोइरालाका अनुसार विगतका वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार सङ्ख्यासमेत बढेको छ।
राम्रो तथा सुरक्षित काम दिलाइ दिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन्। महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाँउगाँउमा सक्रिय रहेको उनको भनाइ छ।
माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमा नाकाबाट फिर्तासमेत पठाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।