प्रतिकात्मक तस्बिर।
बेनी- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ। सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो। खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो।
अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए। तिरुपती फुड्स एन्डड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन। ७ सय मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ।
म्याग्दीका ग्रामिण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री हुने गरेको गुनासो बढेको बेला यस्ताे सामाग्री भेटिएको हो। सदरमुकाममा केन्द्रित रहँदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा गरिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए।
उनका अनुसार प्रत्येक महिनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।