काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता झलनाथ खनालले मुलुकको विकासका लागि युवा वैज्ञानिकको सहभागिता बढाउनुपर्ने बताएका छन्।
पोलिमार विश्व वैज्ञानिक सञ्जाल, त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र नेपाल पोलिमार इन्स्टिच्युटको आयोजनामा आजदेखि सुरु भएको ‘पोलिमार–२०१९ अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उनले मुलुकको विकासका लागि युवा वैज्ञानिक जाग्नुपर्ने बेला आएको बताए।
'विदेशमा हासिल गरेका ज्ञान सिपलाई स्वदेशमा प्रयोग गर्न लाग्नुहोस्', उनले भने। पूर्वप्रधानमन्त्री खनालले नेपालमा राजनीतिक मुद्दा सकिएको भन्दै अब मुलुकलाई आर्थिक विकासमा अगाडि लैजान युवा वैज्ञानिकको खाँचो रहेको बताए।
‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि वैज्ञानिकका महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।