काठमाडौं– म्यानचेस्टर सिटीका कप्तान भिसेन्ट कोम्पनीले सिजनको अन्त्यबाट क्लब छाड्ने बताएका छन्।
शनिबार राति सिटीले सिजनको तेस्रो उपाधि जित्ने क्रममा एफए कपको उपाधि जितेको थियो। सो खेलमा कप्तानी गरेका कोम्पनीले आइतबार विहान एफए कपको फाइनल खेल सिटीका लागि अन्तिम खेल भएको बताएका छन्। कोम्पनीले सिटीले यो सिजन जितेको इएफएल कप र प्रिमियर लिगको उपाधि उचाल्दा कप्तानी गरेका थिए।
३३ वर्षीय बेल्जियन डिफेन्डर कोम्पनीले सिटीका लागि चार प्रिमियर लिगका उपाधि जिते। यस्तै २ एफए कप र ४ लिग कपको उपाधि जितेका उनले सिटीमा ११ वर्ष बिताए। त्यसक्रममा उनले ३ सय ६० खेल खेलेर २० गोल गरे।
सिटी छाड्नुअघि कोम्पनीले फेसबुकमा खुलापत्र लेख्दै भनेका छन्,'मैले यो साचो जस्तो महसुस गरेको छैन।' उनले सिटीले आफूलाई सबैथोक दिएको र आफूले पनि सिटीलाई योगदान दिन प्रयास गर्ने बताए।
बेल्जियमका सेन्टर ब्याक कोम्पनी जर्मन क्लब हामवर्गसबाट सन् २००८ मा सिटीमा आबद्ध भएका थिए। सिटीले उनलाई सन् २०११ मा कप्तान बनाएको थियो।
गत मे ६ मा लेस्टर सिटीविरुद्ध उत्कृष्ट गोल गरेपछि सिटीको उपाधि यात्रा बलियो बनेको थियो। अन्तिम दिन ब्रिङ्टनलाई हराएपछि सिटीले लगातार दोस्रो सिजत उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।