काठमाडौं- नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै गएको देखाएको छ।
राजधानी काठमाडौंमा आइतबार आयोजित 'समुदाय–प्रहरी साझेदारी' विषयक अन्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले यस्तो बताएका हुन्। उनले गाँजाचरेस सेवनलगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोगलगायत कारणले हिंसाजन्य घटनामा वृद्धि भएकाे बताए। उनले हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर बृद्धि भएको उनकाे भनाइ छ।
उनले निर्मला पन्त हत्या प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भएपनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको धारणा राखे।
उनले पछिल्लो समय पेसेवर अपराधीबाट हुने अपराधभन्दा सामाजिक विकृतिको कारणले सिर्जित अपराध बढेको बताए। उनले ५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमान्ले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमान्को हत्या गरेको पाइएको बताए। सामाजिक सञ्जालको दुरुपयोगले पनि हत्या हिंसाका घटना बढाएको अध्ययनले देखाएको छ। उनले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाइएको दाबी गरे।
उनले बलात्कारजन्य घटनाको प्रवृत्तिमा पनि फरक आएको धारणा राखे। सुवेदीले पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडीत १८ वर्ष भन्दा मुनिका बालिका भएको र उनीहरु घरपरिवार, नातागोता, छिमेकी, सहकर्मी, शिक्षकलगायतबाट नै बलात्कृत हुने गरेको जानकारी दिए। उनका अनुसार यसअघि १६ वर्षभन्दा माथि उमेर समुहका बालिकामाथि बलात्कार दर बढ्दो थियो।
सुवेदीले शान्ति सुरक्षा स्थापनाका लागि प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने भन्दै अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रममार्फत जनचेतना फैलाउने काममा सहयोग गर्न सबै वर्ग र समुदायलाई आव्हान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।