काठमाडौं- त्रिशूली ३ 'बी' २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ। स्थानीयले विभिन्न माग राखी २ दिनदेखि गरेकाे अवरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ।
नुवाकोटको किस्पाङ गाउँपालिका-५, पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले 'नियतबस' रोकेका थिए। त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया-४ का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेका थिए।
नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई अनावश्यक माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनीसमेत दिएका थिए। स्थानीयको जायज माग पूरा गर्न आयोजना सधैं तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने बताए।
उनले त्यहींबाट नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सुरक्षा व्यवस्थाको प्रवन्ध गरिदिन अनुरोधसमेत गरेका थिए। स्थानीय प्रशासनले तत्कालै आयोजनास्थलमा जनपथ र सशष्त्र प्रहरीको टोली परिचालन गरिदिएको थियो। सुरक्षाको व्यवस्था भएपछि निर्माणमा खटिएको ठेकेदार कम्पनीले शुक्रबार बिहानैबाट काम सुरु गरेको हो।
‘यो सबस्टेसन एक वर्ष भित्रमा बन्न सकेन भने रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, यसबापत प्राधिकरणले करौडौं रुपैयाँ पेनाल्टी तिर्नुपर्छ,’ उनले भने, ‘यस्तो महत्वको आयोजनाको काममा अवरोध गर्ने?’
निर्माणमा अवरोध गर्न मुख्य भूमिका खेल्ने उत्तरगया-४ का शिवप्रसाद भट्टराई, जानुका थापामगर लगायतका विरुद्धमा आयोजनाले जिल्ला प्रशासन तथा प्रहरी कार्यालय नुवाकोट र रसुवामा किटानी जाहेरी दिएको छ।
त्रिशूली नदी किनारमा सबस्टेसनको इलाका घेर्न पर्खाल लगाउँदा विरोध भएको थियो। आयोजनाले बगरमा निर्माण गरिरहेको पर्खालमाथि सार्न माग गरेका थिए। स्थानीयले अवरोध गरेपछि आयोजनाले दुबैतर्फका वडाध्यक्षहरुसँग छलफल गरेको थियो। उनीहरुले आयोजनाले उपयुक्त स्थानमा नै सबस्टेसन निर्माण गरिरहेकाले अवरोध नगर्न स्थानीयलाई आग्रह गरेका थिए।
आयोजनाले रसुवातर्फ रहको खेतीयोग्य जग्गा तथा बस्ती जोखिममा पर्न नदिन पर्खाल लगाइदिएको बताएकाे छ। भट्टराईको नेतृत्वमा नै पर्खाल लगाइएको थियो। अहिले उनले सबस्टेसन निर्माणमा पेटी ठेक्का हात पार्नका लागि केही स्थानीयलाई उचालेका आयाेजनाले दाबी गरेकाे छ। उनले आफ्नो स्वार्थ पूरा गर्न आयोजनाका कर्मचारीलाई फोन गरी धम्क्याउने गरेका थिए।
त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो। आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहने छ। आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ। आयोजनाको निर्माण अगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।