स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा जाने सांसदलाई समाजवादी पार्टीले कारबाही गर्ने

नेपालको एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भनाइ
नेपाल लाइभ | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 १६:१४:०० मा प्रकाशित

काठमाडौं– समाजवादी पार्टी नेपालले स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी भएका भनिएका आफ्ना सांसदलाई कारबाही गर्ने जनाएको छ। 

आफ्नो पार्टीका सांसद स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी भएको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त कार्यक्रमा गएको बारे कुनै जानकारी नभएको र अनुमति समेत नदिएको बताएको छ।

तत्कालीन संघीय समाजवादी फोरम तथा हालको समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी (राजापा)का सांसद इकवाल मियाँ उक्त कार्यक्रममा सहभागी थिए। 

युरोपेली देश लाटभियाको राजधानी रिगामा गतसाता आयोजित ‘टिबेट एन्ड द इन्टरनेशनल नेटवर्क अफ पारलिमेन्टेरियन्स टिबेट’कार्यक्रममा ती सांसद सहभागी भएका थिए। 

सांसद यादवको उक्त भ्रमण व्यक्तिगत भएको र यसले पार्टीको विचार प्रतिनिधित्व नगर्ने भन्दै समाजवादी पार्टीले चित्त बुझ्दो जवाफ नपाए उनीमाथि अनुशासनको कारबाही गर्ने बताएको छ।

‘उक्त देशमा भएको उनको भ्रमण नितान्त व्यक्तिगत हो र यसले पार्टी नीतिको प्रतिनिधित्व गर्दैन्,’ पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यदि, उनको स्पस्टीकरण सन्तोषजनक नभए पार्टीले उनीमाथि उपयुक्त किसिमको अनुशासनको कारबाही गर्ने छ ।’

समाजवादी पार्टी नेपालको एक चीन नीतिको सम्मान गर्ने र त्यसको पक्षमा उभिने भन्दै विज्ञप्तिमा चीन विरुद्धका कुनै पनि गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। 

त्यस्तै समाजवादी पार्टीले संविधानमा उल्लेख भएको नेपालको वर्तमान विदेश नीति, संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको जनाएको छ।

स्वतन्त्र तिब्बत कार्यक्रममा दुई सांसद सहभागी भएकोबारे चीनले गम्भीर चासो देखाएको थियो। स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा नेपाली सांसद सहभागी हुनु नेपालले अंगिकार गर्दै आएको एक चीन नीति विपरीत भएको भन्दै चीनले चासो देखाएको हो।

चीनको चासोपछि मंगलबार परराष्ट्र मन्त्रालयले  एक प्रेस वक्तव्य सार्वजनिक गर्दै ती सांसदको सहभागिताबारे आपत्ति प्रकट गरेको थियो।

नेपाली सांसदहरु सो कार्यक्रममा सहभागी भएको विषयमा जानकारी नभएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। 

‘यस्तो प्रकारको सहभागिताबारे नेपाल सरकार जानकार छैन्,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘एक चीन नीतिप्रति नेपाल दृढतापूर्वक उभिन्छ र यस विरुद्धका गतिविधि नेपाली भूमिबाट हुन दिँदैन।’

उक्त कार्यक्रममा सहभागी भए/नभएकोबारे भने सहभागी भएका भनिएका सांसद स्वयंले भने केही अहिलेसम्म कुनै औपचारिक टिकाटिप्पणी गरेका छैनन्।

कुनै सांसद विदेशमा हुने कार्यक्रमा सहभागी हुँदा संसद सचिवालयबाट अनुमति लिनुपर्ने भए पनि जानकारी मात्रै गराएको तर अनुमति नलिएको पाइएको छ।