काठमाडौं– अर्घाखाँचीका हरिप्रसाद श्रेष्ठलाई एकाएक हुटहुटी जाग्यो, विदेश जाने।
साउदी, कतारभन्दा पनि अरु कुनै देशमा जान पाए सजिलो काम र राम्रो कमाइ हुन्थ्यो कि भन्ने सोच बनाएर उनी काठमाडौं आए। चिनजानकै साथीहरुले उनलाई उक्साए, कुवेत जान। ती साथीहरुले थाहा पाएका व्यक्ति थिए, स्याङ्जाका श्याम थापा।
भेटमा थापाले कुवेतमा मार्केटिङ कामका लागि डिमान्ड आएको र ४० हजारभन्दा बढी मासिक कमाइ हुने सुनाए। राम्रो काम र कमाइ हुने सुनेपछि श्रेष्ठ कुवेत जानका लागि सहमत भए।
श्रम स्विकृति, भिसा प्रोसेसिङ, स्वास्थ्य परीक्षणका लागि केही रकम आवश्यक पर्ने भन्दै एजेन्ट थापाले सुरुमा श्रेष्ठबाट ३७ हजार रकम माग गरे। विदेश जानकै लागि भनेर ऋण काढेर काठमाडौं आएका थापासँग धेरथोर रकम साथमा थियो नै। उनले थापालाई सिनामंगलमा भेटेर ३७ हजार हातैमा थमाइदिए।
३७ हजार बुझेको केही दिनपछि थापाले फेरि भिसाका लागि थप रकम लाग्ने सुनाए। जति छिटो रकम दियो त्यति नै छिटो भिसा आउने भन्दै उनलाई उनले प्रलोभन देखाउन थाले।
३७ हजार बुझाइसकेपछि पनि थापाले आनाकानी गरेपछि श्रेष्ठ नझस्किएका होइनन्, कतै ठग्ने नियत त होइन?
'जब ३७ हजार बुझाइयो, भोलिभोलि भन्दाभन्दै महिना दिन बित्न लागि सक्दासमेत केही टुंगो नलागेपछि रकम फस्ने हो कि भन्ने शंका लाग्यो,' श्रेष्ठले भने, 'पासपोर्ट उनकै हातमा थियो। त्यसैले बाँकी रकम बुझाउन बाध्य भएँ।'
एक पटक त श्रेष्ठले काम नहुने भए पासपोर्ट फिर्ता दिनसमेत भनिसकेका थिए। तर, त्यो रकम प्रोसेसिङमा खर्च भइसकेकाले अब फिर्ता नहुने थापाले अड्को थापे।
सुरुमा बुझाएको ३७ हजारसहित ३ पटक गरेर थापालाई १ लाख २५ हजार बुझाएको श्रेष्ठ बताउँछन्।
विमानस्थलबाटै फिर्ता
रकम बुझाइसकेपछि गत शुक्रबार टिकट आइसकेको भन्दै श्रेष्ठलाई विमानस्थलमा बोलाइयो। उनी शुक्रबार सबैसँग बिदाबारी भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे।
आवश्यक कागजात विमानस्थलमै आफैंले ल्याइदिने सुनाएका थिए एजेन्ट थापाले। टिकट लगायत आवश्यक कागजात लिएर थापा आउने विश्वासले उनी दिउँसो ३ बजे विमानस्थल पुगे। बेलुका ८ बजे फ्लाइट हुने सुनाइएको थियो। तर उक्त समय नजिकिँदा पनि थापा आएनन्। जब श्रेष्ठले फोन गरे। फोनको स्विच अफ थियो। फ्लाइटको समय सकिसक्दा पनि न थापा आए न फोन सम्पर्क भयो।
कुवेत गएर पसिनासँग पैसा साट्ने सपना बोकेर निस्किएका श्रेष्ठको सपना एकाएक भत्ताभुंग भयो। ‘सोच्दै नसोचेको भयो,' निन्याउरो अनुहारमा भेटिएका उनले भने, 'कसरी फसियो कसरी, म बाठो छु भन्नेलाई त यसरी फसाइयो। झन् केही थाहा नभएका सोझा युवाहरुलाई कसरी फसाइन्छ होला?'
४३ जना एकै घानमा
विमानस्थलबाट फर्किएर पनि पीडित श्रेष्ठलाई थापालाई सम्पर्क गरिरहे। केही दिनपछि सम्पर्कमा आएपछि आफूले बुझाएको रकम फिर्ता दिन अनुरोध गरे। भेट गर्न बोलाएर प्रहरीसम्म पुर्याए। रकम बुझाएको केही प्रमाण नभएपछि थापा २४ घन्टामा आफूले लिएको रकम फिर्ता गर्ने सर्तमा छुटे।
तर, रकम भोलि दिन्छु भोलि दिन्छु भन्दै झुलाउन थाले। श्रेष्ठले रकम फिर्ता पाएनन्। ‘काठमाडौं आएर बसेको दुई महिना भइसक्यो, खाँदा बस्दा अरु एक लाखभन्दा धेरै रकम खर्च भइसक्यो,’ श्रेष्ठ भन्छन्।
श्रेष्ठसँगै थापाले ठगी गरेका अन्य ४३ युवाहरु पनि सम्पर्कमा आएका छन्। उनीहरु सबैलाई कुवेत पठाइदिने भन्दै थापाले प्रतिव्यक्ति एक लाखभन्दा बढी रकम असुली गरेका थिए।
श्रेष्ठजस्तै विमानस्थलसम्म ४३ युवाहरु नै पुगेका थिए। केहीलाई थापाले नक्कली डकुमेन्ट बनाएको र केहीलाई विमानस्थलमै पुगेपछि आवश्यक डकुमेन्ट उपलब्ध गराउने बताएको पीडितहरु बताउँछन्।
पीडितहरुले रकम बुझाएको केही पनि प्रमाण थापाले उपलब्ध गराएका थिएनन्। तर, पक्राउ गरेको बेलामा सबैसँग रकम लिएको कागज बनाएर पीडितहरुले हस्ताक्षर गर्न लगाए।
ठगीको प्रमाण भएपछि मंगलबार युवाहरुले वैदेशिक रोजगार विभागमा थापाविरुद्ध व्यक्तिगत ठगीको उजुरी दिएका छन्। उजुरी हेरी ठगी गर्ने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ।
'वैदेशिक रोजगारीमा पठाउने बहाना बनाएर रकम असुल्ने तर नपठाउने जस्ता घटना बढ्दै गइरहेको छ,' विभागका निर्देशक भोलानाथ गुरागाई भन्छन्, 'उजुरी र ठगीको प्रकृति हेरीकन विभागले कारबाही थाल्नेछ।'
यो पनि : कागजपत्र नक्कली भएपछि कुवेत हिँडेका ४३ नेपाली विमानस्थलबाटै फर्किए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।