काठमाडौं- करिब ३ सातादेखि काम रोकेको ठेकेदार कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई निरन्तरता दिने भएको छ।
नेपाल उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजना निर्देशनालय आफैंले १० करोडको चेक निर्माण कम्पनीको नाममा काटेपछि निर्माण सुरु गर्न ठेकेदार कम्पनी सहमत भएको हो।
रकम अभाव भएको कारण देखाउँदै चिनियाँ ठेकेदार कम्पनी 'नर्थ वेस्ट सिभिल एभिएसन'ले काम रोकेको थियो। काम ठप्प भएको विषय बाहिरिएसँगै अर्थ मन्त्रालयले आइतबार राति नै विभिन्न शीर्षकबाट रकमान्तर गरी ७० करोड निकासा गरेको बताए पनि ठेकेदारसामु रकम हात परेको थिएन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले अर्थले ७० करोड निकासा गरेको जानकारी दिएका थिए।
तर, कुनै पनि रकम आफूहरुले नपाएको ठेकेदार कम्पनीले गुनासो गरेपछि काम चालू गराउन आयोजना निर्देशनालयको खातामा रहेको रकमबाट १० करोडको चेक ठेकेदारलाई दिएको आयोजनम निर्देशनालय प्रमुख प्रदीप अधिकारीले बताए।
मन्त्रालयलमा प्राधिकरणले समयमै रकम निकासीका लागि फाइल पठाए पनि मुख्य लगानीकर्ता एडिबीसँग स्वीकृति लिन ढिलाइ गर्दा समस्या आएको निर्देशनालयको भनाइ छ।
ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि काम रोकिँदा झन्डै तीन सातायता धावनमार्गको निर्माण कार्य अलपत्र छ। विमानस्थलमा अहिले धावनमार्गको अन्तिम चरणको कालोपत्रे गर्ने काम भइरहेको छ। ३ किलोमिटरको धावनमार्ग अन्तर्गत ५ सय मिटर मात्र कालोपत्रे गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।