भैरहवा- लामो समयमो प्रतीक्षापछि भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएको छ। सेजमा शक्ति मिनरल्स प्रालिको उद्योग सञ्चालनमा आएसँगै सेजको औपचारिक सुरुवात भएको हो।
सेज तथा उद्योगको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मंगलबार औपचारिक उद्घाटन गरे।
उद्योगको उद्घाटन गर्दै मन्त्री यादवले ढोका थुनेर विदेशी लगानी भित्र्याउन नसकिने बताएका छन्। उनले ढोका थुनेर झ्यालबाट बोलाइए लगानीकर्ता आउन नसक्ने भनाइ राखे।
मन्त्री यादवले उद्योग दर्ताका लागि बुधबारदेखि मन्त्रालयमा एकद्वार प्रणालीको सुरुवात गर्न लागेको पनि जानकारी दिए। 'साढे १४ महिनादेखि मैले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छु, अब भने उद्योग दर्ताको लागि विभिन्न मन्त्रालय धाउनुपर्दैन,' उनले भने, 'सबै कागजपत्र लिएर एकै ठाउँमा दर्ता हुने व्यवस्था गर्दैछौं।'
निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेकोमा उनको जोड थियो। उनले आयात ९४ प्रतिशत र निर्यात ६ प्रतिशत मात्र रहेकोले उत्पादनमा बढी जोड दिनुपर्ने बताए।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले उद्योग स्थापना मार्फत मुलुकमै रोजगारी सिर्जना गर्ने मन्त्रालयको लक्ष्य रहेको बताइन्।
प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारले उद्योगहरुलाई व्यवस्थित गर्नुपर्छ भन्नेतर्फ लागेको बताए।
शक्ति मिनरल्स प्रालिका अध्यक्ष विनोदकुमार श्रेष्ठले ४० करोड लगानीमा स्थापना गरिएको उद्योगले उद्योग स्थापनाको पहिलो अनुमति (लाइसेन्स) प्राप्त गर्न सफल भएको बताए। यो उद्योग नेपालमा खनिज पदार्थ प्रशोधन गर्ने पहिलो उद्योगका रूपमा रहने र यसले स्वदेशी कच्चा पदार्थबाट स्टिल्सका लागि आवश्यक पर्ने फ्लक्स उत्पादन गरी भारत तथा अन्य विदेशी मुलुकमा निर्यात गर्ने उनको भनाइ थियो। उद्योगमा १५५ जनाले प्रत्यक्ष र ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएको श्रेष्ठले जानकारी दिए।
५२ बिघामा फैलिएको सेजमा ६९ वटा प्लट रहेको छन्। सेजमा स्थापना हुने उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत विदेश निकासी गर्नैपर्ने प्रावधान छ।
यस्ता उद्योगहरूलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।