काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले बिहीबारको निर्वाचन समग्रमा उत्साहपूर्ण भएको जनाएको छ। बम बिस्फोटका घटना, झरी र चिसो मौसमका बाबजुद पनि मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सरिक भएको आयोगले जनाएको छ।
विज्ञप्ती जारी गरी आयोगले मतदान शिक्षाको कमि देखिएको र मतदानस्थल सुव्यवस्था हुन नसकेको उल्लेख गरेको छ। आयोगले ४५ जिल्लाै निर्वाचन अनुगमन गरेको थियो। आयोगका अनुसार डडेल्धुरा, नवलपरासी, ललितपुर, काठमाडौं, भक्तपुर, गुल्मी, सुनसरी, सल्यान, स्याङजा, धनकुटा लगायत जिल्लामा बिहीबार बम बिस्फोट भएको र पूर्वी नवलपरासीको देवचुलीमा केही व्यक्ति घाइते समेत भएका छन्।
‘सप्तरीको महादेवा गाउँपालिकाको एउटा मदतान केन्द्रमा एउटै पनि मतदान हुन नसकेको पाइएको छ,’ आयोगकी आयुक्त मोहन अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कञ्चनपुर, सर्लाही, मकवानपुर,भक्तपुर लगायत जिल्लामा विस्फोटक पदार्थ भेटिएको र सर्लाही, भक्तपुर, काठमाडौं, स्याङजा लगायत जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको बुझिएको छ।’
सर्लाही, स्याङ्जा र अछाममा प्रहरीले हवाई फायर समेत गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ। यस्तै आयोगले आगामी निर्वाचनमा मतदाता शिक्षा र मतदान केन्द्रको सुव्यवस्थामा सुधार गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।