काठमाडौं– प्रदेश र प्रतिनिधिसभाको दोस्रो तथा अन्तिम चरणमा आज भएको निर्वाचन सुरक्षा अधिकारीहरुले आकलन गरेभन्दा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन भएका ४५ जिल्लामा कतै पनि ठूलो हिंसात्मक घटना नभएको गृह मन्त्रालयले जनाएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक महिनायता देशका विभिन्न भागमा हिंसात्मक घटना गरिरहँदा मतदानको दिन थप निर्वाचन विरोधी गतिविधि हुन सक्ने आशंका गरिएको थियो। तर, प्रहरीले सक्रियता बढाएपछि विप्लवका नेता–कार्यकर्ता निस्क्रिय भए।
केही स्थानमा सामान्य प्रकृतिका विस्फोट भएको प्रहरीले जनाएको छ। असुरक्षाका कारण मतदाता त्रस्त नभएको गृहले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दवाडीले आकलन गरेभन्दा पनि शान्तिपूर्ण रुपमा निर्वाचन भएको बताए। सुरक्षा निकायको सक्रियता र सर्वसाधारणको सहयोगका कारण शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनले बताए।
प्रहरीले राजधानीमा विप्लव समूहका ६ जना जिल्लास्तरीय नेतालाई बुधबार राति विस्फोटक पदार्थससहित पक्राउ गरेको थियो। अन्य जिल्लामा पनि नेकपामा ६ सयभन्दा धेरै कार्यकर्तालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ।
विप्लवका कार्यकर्ता निस्क्रिय, सिके राउतका सक्रिय
चुनावअघि शान्त देखिएका सिके राउतले २ नम्बर प्रदेशका जिल्लाहरुमा भोट नहाल्न मतदाताहरुलाई धम्की दिनुका साथै र प्रलोभन देखाए। जसका कारण उनको प्रभाव भएको क्षेत्रमा थोरै मात्र मत खसेको छ। सप्तरीको महादेवास्थित मतदान केन्द्रमा त एउटै मत खसेन।
सप्तरीकै तिलाठीमा भोट नहाल्न भन्दै धम्काउने सिके राउतका २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। चुनाव प्रभावित गर्न लागेपछि राउतलाई प्रहरीले बिहानै पक्राउ गरेको थियो।
तराईका भूमिगत समूहहरुले कुनै चुनावी विरोधी गतिविधि नगरेको गृह मन्त्रालयले जनाएको छ।
प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपाने पनि बिनाबर्दीका प्रहरीको सहयोगमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँछन्।
‘सबै पक्षको सहयोगमा निर्वाचन शान्तिपूर्वक भयो, सबैलाई धन्यवाद दिन चाहन्छौं,’ उनले भने।
गृह मन्त्रालयले अब मतगणनालाई लक्षित गरी सुरक्षा योजना लागू गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।