काठमाडौं- स्वतन्त्र तिब्बत कार्यक्रममा २ सांसद सहभागी भएको भन्दै चीनले चासो दिएपछि परराष्ट्र मन्त्रालयले ध्यानकर्षण भएको प्रष्ट पारेको छ।
मंगलबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै मन्त्रालयले लाटभियामा भएको स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा नेपालका २ सांसद सहभागी भएको विषयमा गम्भीर भएको जनाएको हो।
प्रतिनिधिसभाका २ सांसद स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी भएको भन्दै चीनले चासो दिएपछि मन्त्रालयको प्रष्टोक्ति सार्वजनिक भएको हो। नेपाली सांसद तिब्बत सम्बन्धि कार्यक्रममा सहभागी हुनु नेपालले अंगीकार गर्दै आएको एक चीन नीति विपरीत भएको भन्दै चीनले चासो देखाएको हो।
नेपाली सांसदहरु सो कार्यक्रममा सहभागी भएको विषयमा जानकारी नभएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
सरकारले यस प्रकार सरकारको परराष्ट्र नीतिविरुद्ध हुने गतिविधि स्वीकार्य नभएको समेत स्पष्ट पारेको छ।

लाटभियाको राजधानी रिगामा गत साता आयोजित 'टिबेट एन्ड द इन्टरनेशनल नेटवर्क अफ पारलिमेन्टेरियन्स टिबेट' कार्यक्रममा ती सांसद सहभागी भएका थिए।
कार्यक्रममा तत्कालीन संघीय समाजवादी फोरम तथा हालको समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी (राजापा)का सांसद इकवाल मियाँ सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।